काठमाडौं - इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ ।

यही अक्टोबर ७ मा हमासले गरेको आतंककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले राजीनामा मागेको हो ।

महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजायलाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।

राष्ट्रसंघमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेस राष्ट्रसंघको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ रहेको बताए । उनले सामाजिक सञ्जाल एक्समार्फत बालबालिका, महिला र वृद्धवृद्धाहरुको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसंघको नेतृत्व गर्न योग्य नहुने उल्लेख गरेका छन् । उनले इजरायली नागरिक र यहुदहिरुका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने व्यक्तीसँग कुरा गर्नुको कुनै औचित्य नभएको समेत बताएका छन् ।