संसदीय समितिको निर्देशन- लिम्पियाधुरासहितको नयाँ नक्सा बनाउनु
काठमाडौं - संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिकी सभापति शशी श्रेष्ठले सरकारका नाममा विभिन्न सात बुँदै निर्देशन दिएकी हुन्। ‘भारतको तर्फबाट २ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपालको सार्वभौकिता तथा अखण्डतामा हस्तक्षेप गरेको छ’, समितिको निर्देशनमा भनिएको छ, ‘लिम्पियाधुराबाट बग्ने कालीनदीले काटेको बिन्दु नै दुई देशको सीमा हो। महाकाली नदीको मुहान लिम्पियाधुरा नै हो। सरकारले यसमा लिएको अडानको सराहना गर्दै उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल थालियोस।’
‘भारतीय अतिक्रमण रोक्नका लागि कालापानीसहितका क्षेत्रमा सीमासुरक्षा बलको स्थायी क्याम्प राखियोस्’, समितिले भनेको छ, ‘भारतको अतिक्रमणविरुद्ध राज्य, त्यसका सबै अंग, राजनीतिक दल, नागरिक समाज र आमनागरिक एकजुट हुनु जरुरी छ। साथै सरकारले भारतको सीमाक्षेत्रमा आफ्नो बलियो उपस्थिति पनि देखाउनेतर्फ काम गर्नुपर्छ।’
लिम्पियाधुरा मुहान भएको महाकालीनदी पूर्वको भूभाग नेपालकै भएकाले यसका लागि भारतसँग कूटनीतिक र राजनीतिक पहल थाल्न पनि समितिले भनेको छ। ‘नेपालको सार्वभौमसत्ता जोगाउन उच्चस्तरीय कूटनीतिक र राजनीतिक वार्ता अघि बढाउनु जरुरी छ’, समितिले भनेको छ, ‘नेपालको पाठ्यक्रमममा सुधार गरियोस्। लिम्पियाधुरासम्मकै समेटेर नयाँ नक्सा जारी गरियोस्।’
फेसबुक पेज Like गर्नुहोस