काठमाडौं - चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई  काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आइतबार डडेलधुरा अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै विज्ञप्ति जारी गरेपछि आज नेपाली सेनाको हेलिकोप्टर डडेलधुरा पुगेको हो । 

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार टिचिङ र वीर अस्पतालमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको बताइएको छ ।

वीर अस्पतालको आईसियु पनि खाली राखिएको अस्पताल प्रशासनले जनाएको छ । तर, केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेको बताइएको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीका माग सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको बताएका छन् । अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा। केसीलाई मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

डा। केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि डडेलधुरा अस्पताल नजिकैको एक निजी घरमा अनसन सुरु गरेका छन् ।  तर उनको स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रबार जिल्ला अस्पताल सारिएको थियो ।