काठमाडौं - गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरुलाई रिसोर्टमा राखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेका हुन् । 

सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदहरुलाई मंगलबारदेखि पोखराको सुविधासम्पन्न रिसोर्टमा राखिएको स्रोतको भनाई छ । माओवादी र कांग्रेसका सांसदलाई कुटी रिसोर्टमा राखिएको छ भने जसपाका सांसदलाई नजिकैको होटलमा व्यवस्था गरिएको बताइएको छ ।

यसअघि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा सांसदहरुले फ्लोर क्रस गरेपछि तरंगित भएको नेपाली राजनीतिमा पुनः अर्को प्रकरण नदोहारियोस् भन्नका लागि गण्डकीका सांसदहरुलाई छुट्टै राखिएको बुझिएको छ । कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै जसपाका सांसदहरुले मन्त्री पदको सपथ लिएका थिए । 

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत सोमबार मात्र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ ।  नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ।

प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई साथ दिएको भन्दै जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।