काठमाडौं,एजेन्सी - पश्चिम अफ्रिकी राष्ट्र मालीमा सैनिक ‘कू’ भएको छ । मालीमा सेनाले राष्ट्रपति बहन नाडाव र प्रधानमन्त्री मोक्तर ओयनीलाई हिरासतमा लिएको छन् ।

मालीको सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँको राजनीतिक नेतृत्वलाई हिरासतमा लिएको हो । नियन्त्रणमा लिएका राष्ट्रपति नाडाव तथा प्रधानमन्त्री ओयनीलाई सैनिकहरूले राजधानीको नजिकै रहेको सैनिक शिविरमा लगेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार सैनिकहरुले रक्षा मन्त्रीलाई पनि पक्राउ गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मिसनले भने सैनिक ‘कू’को आलोचना गरेको छ र दुवै नेताहरूलाई तुरुन्त रिहाइ गर्न अपिल गरेको छ। अफ्रिकी सङ्घ, पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय, युरोपियन युनियन र अमेरिकाले यस घटनाको भर्त्सना गरेका छन् । मालीका शीर्ष नेताहरूलाई बिना सर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ।