काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम उपलब्ध गराएको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले १५ करोड रुपैयाँको चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

प्राधिकरणले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

बाढीले दूरसञ्चार पूर्वाधारमा समेत क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिन प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पनि सक्रिय हुन आग्रह गरेको छ। क्षतिग्रस्त टावर तथा अन्य दूरसञ्चार संरचनाको शीघ्र मर्मत र पुनःस्थापनालाई प्राथमिकतामा राख्न सेवा प्रदायकलाई भनिएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगमा मात्र सीमित नरही कर्मचारी तथा पदाधिकारीले समेत आफ्नो तलब तथा भत्ताबाट विपद् प्रभावितका लागि आर्थिक योगदान गर्ने निर्णय गरेका छन्।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले सुरु तलब स्केलको आठ दिन बराबर, द्वितीय श्रेणीले छ दिन र तृतीय श्रेणीले चार दिन बराबरको तलब योगदान गर्नेछन्। सहायकस्तरका कर्मचारीले दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब दिनेछन्।

त्यस्तै, प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलबसहित दुईवटा बोर्ड बैठकको भत्ता तथा बोर्ड सदस्यहरूले दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम योगदान गर्ने निर्णय भएको छ।

प्राधिकरणले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै क्षतिग्रस्त दूरसञ्चार संरचना तत्काल पुनःस्थापना गर्ने कामलाई उच्च प्राथमिकता दिएको जनाएको छ।