एमाले विवाद : केन्द्रीय कमिटी बैठक आज पनि, फ्लोर क्रस गर्ने सांसदलाई के होला कारवाही ?
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने तय भएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक सोमबार पनि बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीका अनुसार पार्टी विधिविधान र निर्णयलाई फ्लोरक्रस गर्दै प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।
बैठकले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ, तर हालसम्म कुनै पनि सांसदको यसबारे जवाफ आएको छैन । फ्लोरक्रस गर्नेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल दुवै पक्षका सांसद रहेका छन् । वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले भने स्पष्टिकरण दिन जुरुरी नरहेको भन्दै नदिने पनि बताएका छन् । त्यसकारण आज बस्ने केन्द्रीय कमिटी बैठकमा स्पष्टीकरण सोधिएका सांसदलाई पार्टीले कारवाही गर्ने सम्भावना रहेको छ ।
सोमबारकाे बैठकलाई वरिष्ठ नेता नेपाल पक्षले भने बहिस्कार गरेको थियो ।
स्थायी कमिटी बैठकले गरेको अनुमोदन गरेको दश बुँदे सहमतिलाई सोमबारको बैठकले पनि अनुमोदन गरेको थियो । विसं २०७५ जेठ २ गतेपछिको निरन्तर अहिलेको बैठक भएको प्रवक्ता ज्ञवालीको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस