काठमाडौं - राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ । 

बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय भएको केसीले जानकारी दिएका हुन् । 

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ’ अध्यक्ष केसीको वक्तव्यमा भनिएको छ,  ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ ।’

योसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ । नेकपा माओवादी केन्द्रले यसअघि नै आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाइसकेको छ । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छ । एकल बहुमतका लागि ३ सिट अपुग छ । एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।