राष्ट्रपति भण्डारीको काम प्रधानमन्त्री ओलीको कार्यकर्ता सरह भयो : सभापति देउवा
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको काम प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ता सरह भएको बताएका छन् ।
आज एक पत्रकार सम्मेलनमा सभापति देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएका हुन् । आज बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
‘राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो, उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो’, सभापति देउवाले भने, ‘भारतमा पनि यस्तो अभ्यास गरिएको छ तर यहाँ राष्ट्रपतिले केही गर्दै नगरी संसद विघटन गर्नुभयो ।’
साथै, उनले राष्ट्रपतिले संविधान अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको बताए ।सभापति देउवाले थपे, ‘अब अदालतले मलाई प्रधानमन्त्री तोकेर ३० दिनभित्र विश्वासको मत लिनु भनेर आदेश गर्छ भन्ने मलाई विश्वास छ।’
फेसबुक पेज Like गर्नुहोस