काठमाडौं - विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा विवादित व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।

पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले भट्ट र अग्रवाललाई भने थुनामा पठाउन आदेश गरेको हो ।