संसदमै उठ्यो सरकारले माफी माग्नुपर्ने माग, अब के गर्छ सरकार ?
काठमाडौं – सभामुख कृष्णबहादुर महराले मधेश र थरुहट आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका छन् ।
सरकारले आन्दोलनको क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।
राष्ट्रिय जनता पार्टीले पटक–पटक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । सोमवारको संसद बैठकमा पनि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेपछि सभामुख महराले पुनः रुलिङ गरेका हुन् ।कानूनमन्त्री भानुभक्त ढकालले यसअघि पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नेम्वाङको नेतृत्वमा विशेष समिति गठन
प्रतिनिधि सभाले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ । कांग्रेस र राजपाले विशेष समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान लिएपछि अवरुद्ध संसद हटाउने सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, डा. मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहेका छन् ।
मेरो चरित्र हत्या गरियो: महतो
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो नाम जोडेर चरित्रहत्या गरेकाले माफी माग्न आग्रह गरेका छन् । सोमवार संसदलाई सम्बोधन गर्दै उनले आग्रह गरेका हुन् ।
महतोले सरकारलाई भ्रमको खेती नगर्न चेतावनी समेत दिए । सरकारले खारेज गरेको ८ जनाको नागरिकताको सूचिमा राजेन्द्र महतो भन्ने व्यक्तिको पनि नाम उल्लेख थियो ।
संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको आरोप लगाउँदै सांसद महतोले प्रश्न गने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’
नेपाल समाचारपत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस