काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
काठमाडौंमा बसेको पार्टी बैठकले नीति तथा निर्णयविपरीत कार्य गर्दै अनुशासन उल्लंघन गरेको भन्दै सांसदहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीबाट निष्कासित हुनेमा लुम्बिनी प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी विज्ञप्तिअनुसार ती चार सांसदले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएपछि कारबाही गरिएको हो ।
कारबाहीमा परेका सन्तोषकुमार पाण्डेय र भण्डारीलाल अहिर मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा मन्त्री छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा अम्बिका काफ्लेबाहेक जसपाका चार सांसदले पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेका थिए।
पार्टीले कारबाहीमा परेका सांसदहरूको पद रिक्त गराउन सम्बन्धित प्रदेशसभामा छिट्टै पत्राचार गर्ने जनाएको छ। लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सांसद छन्।

.gif)


