काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रीमण्ड फेरबदल नहुने बताएका छन् ।

शनिवार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । हरेक दिन पत्रपत्रिकामा मन्त्रीमण्डल फेरबदल हुने भनेर समाचार आए पनि त्यसको कुनै संकेत आफूले नपाएको उनले बताए ।

मन्त्रीमण्डल फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको अधिकार भएकोले प्रधानमन्त्रीले नचाहँदा सम्म केही नहुने महासेठको भनाइ थियो ।

त्यस्तै सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको समेत महासेठले बताए । अबको केही महिनापछि सरकारको कामको परिणाम देखिने उनले बताए ।

जनताले मेलम्ची खानेपानी आयोजना, उपत्यका भित्रको सडकका विषयलाई लिएर आक्रोश पोख्ने दिन अब नआउने महासेठले बताए ।कार्यक्रममा बोल्दै मन्त्री महासेठले पूर्व–पश्चिम रेलमार्ग निर्माण र काठमाडौं–केरुङ रेलमार्गमा पनि काम भइरहेको जानकारी दिए ।

नेपाललाई चीन र भारत दुबैतर्फबाट रेलको संजालले जोड्ने आयोजनाको काम प्रक्रियागत रुपमा धेरै अगाडि बढेको उनको भनाइ छ । साथै मन्त्री महासेठले विकास निमार्णमा ढिला सुस्ती गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।