पत्नी राधिकाले प्रधानमन्त्री ओलीलाई भेटिन्
काठमाडौं - प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिनपछि पत्नी राधिका शाक्यले भेटेकी छन्।
दोस्रो भिजिटरका रुपमा राधिकाले प्रधानमन्त्रीसँग भेट गरेको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति’, रिमालले ट्विटरमा लेखेका छन्, ‘दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो।’बिहीबार शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा पुगेर पत्नी शाक्यले प्रधानमन्त्रीलाई भेटेकी हुन् ।
उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार भेट गरेकी थिइन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित भइरहेको छ ।
प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किइसकेकी छन् ।
प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ । फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो। मिर्गौला दाता समीक्षाको बुधबार डिस्चार्ज भए पनि प्रधानमन्त्रीको अस्पताल बसाइ भने लम्बिएको छ। पारिवारिक स्रोतले केही दिन अस्पतालमै राख्न आग्रह गरेपछि उनको अस्पताल बसाइ लम्बिएको हो।
फेसबुक पेज Like गर्नुहोस