एजेन्सी - भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्।

परीक्षा पेपर लिक प्रकरणलाई लिएर उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित विभिन्न स्थानमा कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शन गर्दै आएका थिए।

आन्दोलनरत विपक्षी दलहरूले समेत उक्त प्रकरणको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।

विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनले आज राजीनामा दिएका हुन् ।

प्रधानले सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी दिँदै देशको एकता, विद्यार्थीको भविष्य र अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्।

उनले विद्यार्थीहरू कानुनी प्रक्रियाको झमेलामा नपरी आफ्नो समय पढाइ र करियर निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ राजीनामा दिएको उल्लेख गरेका छन्।

यसअघि कांग्रेससहितका विपक्षी दलहरूले निट परीक्षा पेपर लिक प्रकरणमा सरकारको जवाफदेहिता माग गर्दै शिक्षामन्त्री प्रधानको राजीनामा माग गरेका थिए।