काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् ।

सभापति देउवाले हालै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता सम्वन्धी विधेयकको ७ वर्षे प्रावधानको विरोध गरेका छन् । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ ।

'हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि ।' देउवाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, 'नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म नेकपासँग माग गर्दछु ।'