काठमाडौं - चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनको भएको दाबी गरेको छ ।

भारतले नेपालको भूभाग मिचेर लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक बनाएकामा नेपालमा विरोध भइरहेको बेला चीनको सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै सगरमाथा क्षेत्रका केही तस्वीर पनि सार्वजनिक गरेको हो । ट्वीटमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनिएको छ ।

सीजीटीएनको उक्त ट्वीटप्रति भने आपत्ति जनाउँदै सामाजिक सन्जालमा विरोध भएको छ । विरोध गर्नेहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् । सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ ।

यही बेला उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न थालेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको थियो । चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् ।

८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा संसारकै सबैभन्दा अग्लो शिखर हो । भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यसयता विभिन्न मिशनमा सगरमाथाको उचाई मापनको काम भइरहेको छ । कसैकोमा केही मिटर बढेको त कसैकोमा केही मिटरर घटेको देखाउने गरिएको छ ।

गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको भएपनि त्यसको उचाईं सम्बन्धि रिपोर्ट भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सगरमाथा कस्को देशको भूभागमा पर्ने भन्नेमा विवाद गर्दै चीनले पनि आफ्नो दाबी गरेपछि नेपालमा वीपी कोइराला प्रधानमन्त्री भएका बेला तात्कालीन चिनियाँ राष्ट्रपति माओत्से तुङसँग नै वार्ता गरी नेपालको भएको भन्दै विवाद टुग्याएको ऐतिहासिक तथ्य रहेको छ ।