काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग अब नेपालको निशानाछापमा समावेश हुनेछ । विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपति कार्यालयले विहीबार नै विधेयक प्रमाणीकरण गरेको हो । भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्सामा नसमेटिएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ ।

नेपालले २०३२ सालपछि औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग छुटाएको थियो । नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।