काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भन्दै कराउने गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुन नपाएका एकथरीले प्रतिगमन भयो भनेर कराउने गरेको बताएका हुन् ।

त्यस्ता व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फिजाउने गरेको प्रधानमन्त्री ओलीको आरोप छ । ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ । के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’

त्यस्ता व्यक्तिहरुलाई प्रतिगमन गरेको के हो भन्ने थाहा नभएको भन्दै, अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने ओलीको भनाई छ । अहिले कसैले संविधान नखोसेको, कसैले व्यवस्था नखोसेको, कसैले जनताको अधिकार नखोसेको र लोकतन्त्रको मूल्य मान्यता तलमाथि पनि नपरेको भन्दै प्रतिगमनको हल्ला मात्रै फिजाएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै भने, ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’