काठमाडौं - विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित डिस्चार्ज भएका छन् । आइतबार दिउँसो झापाका ६३ वर्षीय वृद्ध र भोजपुरका २७ वर्षीय युवक डिस्चार्ज भएका हुन् ।

भोजपुरका ती युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए भने झापा दमकका ती संक्रमित वृद्धलाई १२ वैशाखमा संक्रमण पुष्टि भएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ।

लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् ।