काठमाडौं -  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासामा जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने प्रतिबद्धता जनाएका हुन् । 

‘एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको छ। पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौं’, उनले भने, ‘केही दिनभित्रै निर्णयमा पुग्छौँ ।’ लकडाउनको मोडालिटी आएपछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने उनको भनाई छ ।

गएको चैत ६ गतेदेखि तोकिएको एसईई परिक्षा सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भन्दै स्थगित गरेको थियो । 

मन्त्री पोखरेलले आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् । मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको उनले बताए ।

प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको उनले स्पष्ट गरे ।

हरेक वैशाख पहिलो साता विद्यालय तहमा नयाँ शैक्षित्रसत्र आरम्भ हुन्छ । कर्णाली र हिमाली जिल्लामा फागुनमा नयाँ शैक्षिकसत्र आरम्भ हुँदै आएको छ । कोरोना रोकथामका लागि गत चैत ११ देखि बन्दाबन्दी लागू भएपछि सबै शिक्षण संस्था र परीक्षा रोकिएका छन् ।