काठमाडौं - रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २२ गते बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६३ वटा फेला परेका छन्। यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ९८ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको छ।

बाढीपछि अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र विदेशी नागरिक ५ सय ८९ जना छन्। उद्धार गरिएका तथा सनाखत हुन बाँकी व्यक्तिसमेत सम्पर्कविहीनको सूचीमा पर्न सक्ने भएकाले तथ्यांक रुजु भइरहेको प्राधिकरणले जनाएको छ।

हालसम्म १३ हजार ३ सय ९६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएकोमा २ सय २८ जना डिस्चार्ज भएका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइतेको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा दिएका छन्। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित छन्।