काठमाडौं - भोटेकोशी बाढीको समयमा डयुटीमा रही ज्यान गुमाएका प्रहरी परिवारले २२ लाख ८० हजार रुपैयाँ तत्कालै पाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकको निर्णयअनुसार त्यस्तो व्यवस्था गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार ज्यान गुमाएका प्रहरी परिवारले तत्काल नगद १० लाख रुपैयाँ, बीमा र राष्ट्रिय बाणिज्य बैंकबाट प्राप्त हुने सुविधा १२ लाख ८० हजार हुन्छ ।
उक्त रकम मृत्यु संस्कारकै समयभित्र दिइने व्यवस्था गरिएको छ । मृतक प्रहरी परिवारका आश्रित सदस्यलाई सीपमूलक तालिम र सम्भव भएसम्म रोजगारीका लागि पहल गरिने नीति संगठनले लिएको प्रवक्ता काफ्लेले बताए ।
मृतक प्रहरीका सन्ततीको शैक्षिक खर्च पनि प्रहरी संगठनले नै व्यहोर्ने छ । यदि मृतक प्रहरीले कल्याणकोषबाट ऋण लिएको छ भने उक्त ऋण शतप्रतिशत मिनाहा गरिने भएको छ ।
बाढीका क्रममा भागदौड हुँदा वा ड्युटीकै क्रममा चोटपटक लागेका प्रहरीको सम्पूर्ण उपचार खर्च निःशुल्क हुने काफ्लेले बताए । भागदौड वा ड्युटीका क्रममा उनीहरुको निजी सवारी साधन तथा निजी सामानहरुको क्षति भएको कुरालाई दृष्टिगत गर्दै प्रतिप्रहरी ५० हजार रुपैयाँ दिने निर्णय प्रहरीले गरेको छ ।
कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका प्रहरीको निवृत्तिभरण (पेन्सन) अवधी नपुगेको अवस्थामा त्यसलाई सहजीकरण गर्दै पेन्सन दिने नीति लिइँदै आएको छ ।
२०७६ सालयता प्रहरी सेवामा भर्ना भएका कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा जोडिएका कारण उक्त रकमको हकदार स्वतः आश्रित परिवार हुने व्यवस्था छ । एसएसएफबाट प्राप्त हुने मृत्यु, दुर्घटना तथा स्वास्थ्योपचार सुविधा पनि आश्रित परिवारले पाउने व्यवस्था छ ।

.gif)


