काठमाडौं - चालु आर्थिक बर्षको कात्र्तिक मसान्त सम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने ३ खर्ब ३७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

रेमिटयान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव.२ प्रतिशत बढि हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख गरिएको छ ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि विदेशी विनिमय सञ्चिति ऐतिहासिक रुपमै बढेको हो । वाणिज्य बैंकसँग भएको विदेशी मुद्रा र राष्ट्र बैंकले विदेशी मुद्रा र सुनमा गरेको लगानीलाई विनिमय सञ्चिति मानिन्छ । गत असारमसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ थियो । कात्तिकसम्ममा ७ दशमलब ४ प्रतिशतले बढेको हो ।

यसैविच कोभिडका कारण विश्व अर्थतन्त्र शिथिल भइरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा नेपालमा रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलब ८ प्रतिशतले घटेको थियो । दसैं तथा तिहार लगायतका चाडपर्वहरु परेकाले पनि यस अवधिमा रेमिट्यान्स आप्रवाहमा उच्च सुधार देखिएको हो । कोरोनाका कारण हुण्डी कारोबार ठप्प भएपछि औपचारिक माध्यमबाट रकम भित्रने क्रम बढेकाले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको आकलन गरिएको छ ।

त्यसैगरी विदेशी मुद्रा बाहिरेने प्रमुख माध्यम आयातमा गिरावट आइरहेको छ । जसले विदेशी विनिमय सञ्चिति बढाउन टेवा पु¥याइरहेको छ । आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आयातमा आउने गिरावटले विदेशी विनिमय सञ्चिति बढ्नु स्वाभाविक मानिएको छ । केन्द्रीय बैकको तथ्यांक अनुसार आयात १० दशलमव ८ प्रतिशतले घटेको छ । यो अवधिमा चार खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ६ दशलमव ९ प्रतिशतले घटेको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय सीमा कडाई गरिरहेकै कारणले पनि वस्तु आयातमा कमी आइरहेको छ । चीन सरकारले आफ्नो उत्पादन निर्यातमा कडाइ गरिरहेका कारण चीनबाट सामान कम आइरहेका छन् । चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ ।

भारतबाट आउने सामानमा पनि कमी आइरहेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयातमा ३ दशलमव १ प्रतिशतले घटेको छ । अन्य मुलुकबाट हुने आयातमा १९ दशलमव ८ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ । कुल वस्तु निर्यात १० दशलमव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार ४० अर्ब २० करोड निर्यात पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशलमव ९ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १४ दशलमव ९ प्रतिशतले निर्यात बढेको छ । चीनतर्फ ५९ दशमलब २ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फ ६ दशलमव ५ प्रतिशतले निर्यात वृद्धि भएको तथ्यांकले देखाएको छ ।

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो,चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ । चार महिनामा कुल वस्तु व्यापार घाटा १२ दशमलब ५ प्रतिशतले घटेको छ । यस्तो घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रहेको छ ।

अघिल्लो वर्ष यस्तो घाटा ८ दशमलब ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलब १ प्रतिशत थियो ।

यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलब ४ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशलमव ९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५ दशलमव ८ प्रतिशतले कमी आई १ लाख ९ हजार २ सय ५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५ दशमलव ६ प्रतिशतले बढेको पनि केन्द्रीय बैकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।