काठमाडौं - सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।

नागरिकता रद्द गरिएकामा राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

यसैगरी अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतोको पनि नागरिकता रद्द गरिएको छ । 

उपनिर्वाचन मंसिर १४ मा

मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको जानकारी पनि दिए । बाँस्कोटाले निर्वाचन आयोगले सिफारिश गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको बताए ।

संविधानअनुसार निर्वाचनको मिति घोषणा सरकारले गर्छ भने सिफरिश गर्ने अधिकार मात्र निर्वाचन आयोगलाई दिइएको छ । तीन वटै तहका रिक्त ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाव दिएको छ । 

देशभर प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगर प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाध्यक्षमा ४१ पद रिक्त छन् ।