काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
जनतामाथि विद्युतको करको भार थप्नुको सट्टा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन सरकार तत्काल सक्रिय हुनुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले कृषकको सिँचाइ र नागरिकले खानेपानी लिफ्ट गर्न प्रयोग गर्ने विद्युतमा समेत १३ प्रतिशत भ्याट लगाउनु गलत भएको बताएका छन्।
उनका अनुसार आफू ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कृषकको सिँचाइमा लाग्ने डिमान्ड शुल्क छुट गरी विद्युत् महसुल प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, सामुदायिक खानेपानी लिफ्टमा डिमान्ड शुल्क छुट गरी प्रतियुनिट करिब ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसामा झारिएको उनले उल्लेख गरेका छन्।
‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ,’ घिसिङले भनेका छन्।

.gif)



