काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुखका कानून व्यवसायीले बहस गर्नेछन् । सभामुख पक्षका कानून व्यवसायीहरुलाई बहसको लागि २ घण्टाको समय छुट्याइएको छ ।

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । रिटमा सभामुखलाई पनि विपक्षी बनाइए पनि कानून व्यवसायीहरुले भने रिट निवेदनको पक्षमा बहस गर्नेछन् ।

सभामुख पक्षको बहस सकिएपछि रिट निवेदक पक्षको जवाफी बहस हुनेछ । जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् ।

रिट निवेदक पक्षको जवाफी बहसपछि एमिकस क्यूरीको तर्फबाट नेपाल बार र सर्वोच्च बारका २–२ जना गरी ४ जना कानून व्यवसायीले आफ्नो राय प्रस्तुत गर्नेछन् । एमिकस क्यूरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् । सर्वोच्च बारबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

एमिकस क्यूरीको रायपछि बिहीबारसम्म फैसला आउने सम्भावना रहेको छ ।