काठमाडौं  - चीनमा एक सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन्।  

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो।  

प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ।  

पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।  

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्वारकर्ताहरु परिचालन गरिएको थियो। उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्वार गरेका थिए।  

घटनामा परी केही प्रतियोगीहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए। उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ।