काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण जित्ने अवसर गुमाएको छ । सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण सपनालाई बञ्चित गर्दै भारतले २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि पनि पटक–पटक फाइनलमा बाधक बनेको भारत नेपाललाई इतिहास रच्ने अवसरमा तघारो बनेको छ । खेलको १८ औं मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यसैगरि खेलको ५६ औं मिनेटमा बाला देवीले नै व्यक्तिगत तथा भारतका लागि दोस्रो गोल गर्दै आयोजक राष्ट्र नेपालविरुद्ध अग्रता दोब्बर पारेकी थिइन् । त्यसपछि खेलमा थप गोल हुन सकेन र भारतले उपाधि आफ्नो पक्षमा पार्यो ।

यसअघि पनि सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा भारतले नेपाललाई ३–१ गोलले पराजित गरेको थियो भने सन् २०१४ मा भारतको गुआहाटी र शिलोङ्गमा भएको फाइनलमा पनि भारत नै बाधक बन्दै नेपाललाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको थियो ।