काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि प्रचण्ड नेता नेपाललाई भेट्नको लागि उनको निवास कोटेश्वर पुगेका हुन् ।

प्रचण्डले नेपाललाई भेट्नुको कारण मन्त्रिपरिषद् विस्तारको विषय रहेको बुझिएको छ ।  शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेकोले नेता नेपाल पक्षलाई पनि सहभागी गराउनको लागि प्रचण्ड प्रयासरत छन् । सोही कारण उनले आज पनि नेता नेपालसँग भेट गरेका हुन् ।

प्रचण्डले र माधव नेपालबीच दैनिकजसो भेट भइरहेको छ । प्रचण्डले शुक्रबार पनि नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

नेपाल पक्ष सरकारमा सहभागी भए नेपाली कांग्रेस तथा माओवादी केन्द्र लचक भएर धेरै मन्त्रालय दिने बताइएको छ ।