काठमाडौं - डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ। बुधबार डाक्टर सिंहलाई डिनमा नियुक्त गरेको थियो सोहीक नियुक्तीको विरोधमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको हो ।

अनेरास्ववियूले एक विज्ञप्ती जारै गर्दै कोरोना महामारीका बेला राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएकोमा विरोध गरेको जनाएको छ, ‘हाम्रो गौरवशाली संगठन सरकारमा जोसुकै भए पनि विकृति र विसंगतिका विरूद्ध सधै लडेको इतिहास छ। तसर्थ कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन,’ इकाइ अध्यक्ष बिनय पंज्ञानीले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।