काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् । 

शुक्रवार ‘वाग्मती प्रदेश कराँते च्याम्पियनशिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि गर्ने काम भएको बताएका हुन् । प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उनले त्यस खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको बताए । 

‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटि परास्त भए तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरूको कसरत, षड्यन्त्र नेपाल र नेपाली नागरिकका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली नागरिकको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली नागरिक, स्वस्थ नेपाली नागरिक, बलिष्ठ नेपाली नागरिकलाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।