काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने जानकारी दिए ।

कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याइने भन्दै उनले थप पीसीआर मेसिन ल्याइने जानकारी दिँदै भने, ‘थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं ।’

कोरोनाको कारणले मात्र १५ जनाको मृत्यु नभएको जिकिर गर्दै उनले अरू देशको तुलनामा संक्रमित मध्ये मृत्यु हुनेको संख्या कम नै रहेको बताए । नेपालीको प्रतिरोध क्षमता र उपचारको प्रबन्ध नेपालमा राम्रो भएको भन्दै उनले मृत्युदर कम हुने दाबी गरे । विदेशमा १३ देशमा १ सय २७ नेपालीको मृत्यु भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, न्यूनीकरणमा भ्रष्टाचार नभएको बचाउ गर्दै यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने दोहोर्याए ।

उनले अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब आउने बताए । उनले महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने बताए ।

प्रधानमन्त्री ओलीले रेलबाट खाँदिएर आएकाले भारतबाट आउने नागरिक ज्यादा संक्रमित भएको बताउँदै क्वारेन्टिनको प्रबन्ध राम्रो नहुँदा संक्रमण फैलिएको भन्ने स्वीकारेनन् ।

उनले भने, ‘भारतबाट आएकाहरू रेलमा खाँदिएर, कोचिएर आएकाले बाटैमा संक्रमण फैलिएको हुनसक्छ । यहाँ आएपछि क्वारेन्टिन राम्रो नभएर, लापरबाहीको कारणले होइन । भारतबाट आउनेहरूको व्यवस्था हुन्छ । क्वारेन्टिन मापदण्डअनुकूल भए÷नभएको अनुगमन भइरहेको र सुधार पनि गर्दै लगिएको छ ।’