काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बुधबार पनि बस्दैछ । 

बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । आजको बैठकमा विवाद समाधानमा केन्द्रित हुने बताइएको छ ।  एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । सोमबारको बैठकमा विगतका राजनीतिक घटनाको बारेमा समीक्षा भएको थियो । 

मंगलबार पनि बैठक बसेको थियो । बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएको तर, कुनै सहमति हुन सकेको थिएन। 

जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।