चितवन - चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका आठ जनालाई निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

सोही गैंडाको खागसहित आठ जना समातिएका हुन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने रमेश खाती, मकवानपुर मनहरी-६ नयाँ बस्तीका सिताराम थिङ, हेटौंडा-४ समशेर थिङ, राप्ती-११ का पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटौंडा-५ बस्ने अर्जुन रोका, गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने धनबहादुर गुरूङ, चितवन कोराकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने इन्द्रबहादुर तमाङ रहेका छन् ।

अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ। १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको राष्ट्रिय निकुञ्जले जनाएको छ । यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।