सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गरिने
काठमाडौं - राजधानीको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैजनाको कोरोना परीक्षण गरिने भएको छ।
उक्त अपार्टमेन्टको १५औँ तलामा बस्ने एकै परिवारका तीनमध्ये दुईमा कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो तयारी थालेको हो।
गत चैत ५ गते बेलायतको लण्डनबाट आएर अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका तीनजना कोभिड-१९ का शंकास्पदमध्ये २ मा पुष्टि भइसकेको छ।
सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा तीनमध्ये ५८ वर्षीय पुरुष, ८१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। त्यसपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर पीसीआरबाट थप परीक्षण गर्दासमेत पोजेटिभ रिपोर्ट देखिएको हो। अन्य एजनाको पहिलो परीक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू लण्डनबाट फर्किएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए।
मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने करिब ३ सय परिवारका सबैको परीक्षण आजैबाट सुरू गरिएको छ जनाएको छ। मन्त्रालयले ती तीनजनासँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको जानकारी दिएको छ। कोरोना पुष्टि भएपछि सनसिटी अपार्टेमन्टलाई प्रहरीले हिजैदेखि सिल गरिसकेको छ।
फेसबुक पेज Like गर्नुहोस