काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन द्रुतमार्ग ल्याउन अध्ययन
काठमाडौं - निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे अध्ययन अगाडि बढाइएको छ ।
अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौंसम्म ल्याउने सम्भावनाको अध्ययन शुरू भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिए । २ हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ ।
रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । ‘द्रुतमार्ग निर्माण र पेट्रोलियम पाइपलाइन विछ्याउने काम एकैसाथ सम्पन्न गर्ने सरकारको योजना रहेको छ,’ उनले थपे, कामसँगै बढाउनुपर्ने भएकाले यो कार्यमा ढिलासुस्ती गर्न हुँदैन ।’
रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र रक्षा मन्त्रालयमा आएको पुष्टि गरे । द्रुतमार्गमा पेट्रोलियम पाइप बिछ्याउन सम्भव छ छैन भन्ने यकिन छैन । पाइप राख्न आयोजनाको कुल लागत, समयावधि, कति ठाउँमा थप पुल बनाउनुपर्छ लगायतको विषयमा अध्ययनपछि मात्र स्पष्ट हुन सक्ने सचिव अधिकारीले बताए । पाइपलाइन बिछ्याउन सम्भव भएमा सम्पूर्ण लगानी नेपाल आयल निगमले गर्ने बताइएको छ ।
प्रवक्ता गौतमले प्राप्त पत्रको अध्ययन भइरहेको जानकारीसमेत दिए । उनका अनुसार यसबारे नेपाली सेनाको समेत राय बुझ्न सेनालाई पत्राचार गरिएको छ । दु्रतमार्ग निर्माणको जिम्मा सेनाले पाएको हुनाले उसको राय माग गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारको योजनामा नेपाली सेनाको कुनै असहमति नरहेको स्पष्ट पार्दै यसबारे सेनाले प्रतिउत्तर पठाइसकिएको बताए । उनले यो कार्य राष्ट्रको हितमा रहेको समेत बताए ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस