काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रघातीको पहिचान गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै नेता महतोले राष्ट्रघातीको पहिचान गरी टुँडिखेलमा झुन्डाउन पर्ने बताएका हुन् । ‘राष्ट्रघातीको अब पहिचान गर्नुपर्छ। राष्ट्रघातीलाई टुँडिखेलमा झुन्डाउनुपर्छ ।' उनले भने ।

नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताए । राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताए ।

यस्तै, उनले राष्ट्रवादको परीक्षा अब मधेसमा नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘राष्ट्रवादको परीक्षा अब मधेसमा नगर्नुस् । मधेसीलाई राष्ट्रघाती भन्‍ने ?’ उनले नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गरे, अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम रहेको थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?

उनले नक्सा बनाएर वा पारित गरेर मात्र नहुने प्रष्ट पार्दै भूमि फिर्ता गर्न आग्रह गरेका छन् ।