काठमाडौं  - पछिल्लो समय सेयर बजार हरियै भएको छ । कोभिडका कारण प्रभावित अर्थतन्त्र तग्रिएको पनि छैन तर नेप्सेले प्रत्येक दिन नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो समय नेप्सेले इतिहास रच्दै ९ अर्बसम्मको कारोबार गरेको छ भने हालसम्मकै उच्चतम बिन्दु २०७० को बिन्दुसम्म पुगेको छ ।

अर्थमन्त्रीको रुपमा बिष्णु पौडेलको नियुक्ती र पूर्ब अर्थमन्त्री डा युवराज खतिवडाको बर्हिगमनसंगै नेपालको सेयर बजार नेप्से परिसूचक बोलस्टोन मा छ । नेप्सेको पछिल्लो उछाल कुनै पनि नीतिगत परिवर्तन वा मुलकमा व्यापक आर्थिक सुधारका कारण भएको होइन । करिब २ वर्षसम्मअर्थमन्त्री युवराज खतिवडालाई कारण देखाउदै राताम्मै भएको नेप्से यतिबेला अर्थमन्त्री पौडेलका कारण विजय उत्सव मनाइरहेको छ । व्यत्तिवादी सोचबाट प्रताडित नेपालको सेयरबजार अहिलेपनि विधि र पद्धतिमा संञ्चालन हुन नसकेको विश्लेषण हुने गरेको छ । ठूला लगानीकर्ता, ब्रोकर र केही संस्थागत लगानीकर्ताका कारण नेपालको सेयर बजार केही तलमाथि हुने गरेको छ । सेयर बजारका लगानीकर्ता सुवास शर्मा भन्छन्–आर्थिक वृद्धिदर कम हुनु भनेको अन्य क्षेत्र सुस्ताउनु हो । यस अवस्थामा पूँजी बजार सक्रिय भएको देखिन्छ ।

अहिलेको बोलस्टोन ठूला लगानीकर्तालाई फाइदा भएपनि साना र नयाँ लगानीकर्ताहरुको लागि घातक हुनसक्छ । नेपालको अर्थतन्त्र चलायमान नहुँदा बैँक तथा बित्तीय संस्थामा अधिक तरलता रहेकाले लगानीकर्ताले सहज रुपमा मार्जिन पाएपनि सधै यस्तै अवस्था नहुँन सक्छ । बोलस्टोनमा जोगिएर लगानी गर्न आह्वान गर्न केन्द्रिय बैँकले नितिगत परिवर्तनतर्फ सहज हुन आग्रह गरेको छ । सेयर बजारमा बबल हुनसक्ने चेतावनी केन्द्रिय बैँकले दिएको छ ।

नेपाल राष्ट बैँकका प्रबक्ता गुणाकर भट्टका अनुसार “अहिले पूँजी बजारमा उत्साह देखिएको छ । एकहिसाबले यो सकारात्मक नै देखिएको छ भने एकातिर नकारात्मक । संगसंगै पूँजी बजारमा लगानी गर्ने ब्यत्ति चनाखो के कुरामा हुनुपर्दछ भने अहिले भएको नियमनमुखी ब्यवस्थामा हस्तक्षेप केही भयो भने यसले बबलको रुप सिर्जना गर्यो र त्यो बबल ध्यस्त भयो भने यसले साना र नयाँ लगानीकर्तालाई असर पार्ने भट्टले बताए ।”

पछिल्लो समय नेपालमा भित्रिएको रेमिट्यान्स समेत सेयर बजारमा लगानी हुने गरेको देखिन्छ । केन्द्रिय बैँकले डलरको सटहीलाई सहज बनाएपछि अनौपचारीक स्रोतबाट समेत सेयर बजारमा लगानी भएको अनुमान गरिएको छ । २०७२ सालमा नेपालको आर्थिक वृद्धि ऋणत्मक बन्दा नेप्से १८८१ को उच्चतम बिन्दुमा पुगेको थियो । त्यस्तै अहिले कोभिडका कारण नेपालको अर्थतन्त्र तहसनहस भएको बेलामा नेप्से बोलस्टोन मा देखिन्छ । यसले नेपालका लगानीकर्ताले धमिलो पानीमा माछा मारीरहेको विश्लेषण हुन थालेको छ । तर नेपालका लगानीकर्ताहरु भने नेप्से थप उचाइसम्म पुग्ने प्रक्षेपण गर्दछन् ।

नियमक र लगानीकर्ताका आ-आफ्नै दाबी र बिरोधका बिचमा साना तथा नयाँ लगानीकर्ताले जोगिएर लगानी गर्न आवश्यक देखिन्छ । लगानी गर्ने कम्पनीको बारेमा पर्याप्त सुचना र भविष्यमा गर्नसक्ने मुनाफाका आधारमा बुझेर मात्र लगानी गनुपर्ने भन्दै बिज्ञहरुले हचुवा र हल्लाका भरमा बजारमा जथाभावी लगानी नगर्नसमेत सचेत गराएका छन् ।