काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी आवश्यक निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई दिएको राप्रपा काप्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने- 'प्रदेश सरकारहरु अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ । प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।'

श्रेष्ठले राप्रपा प्रदेश सरकार गठनको सत्ता–गणित र राजनीतिक चलखेलमा सहभागी हुने वा त्यसप्रति लालायित नरहेको स्पष्ट पारे। उनका अनुसार प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाकै सहमतिमा गठन हुनुपर्ने पार्टीको धारणा छ।

उनले प्रदेश सरकारबारे निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको हितलाई केन्द्रमा राखेर उपयुक्त समयमा अध्यक्ष लिङ्देनले आवश्यक निर्णय लिने बताए।

केहीदिन अघि नेकपा एमालेबाट दुई वर्षअघि भएको ७ बुँदे पूर्वसहमति पालना हुन नसकेको निष्कर्ष निकाल्दै विपक्षी दल नेपाली कांग्रेसले गठबन्धन तोड्न प्रदेश कमिटीहरूलाई निर्देशन दिएपछि प्रदेशको गठबन्धन भत्किएको थियो ।

त्यसपछि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच ५ वटा प्रदेशमा मिलेर सरकार बनाउने सहमति भएको छ। यसैगरी राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने महाधिवेशनको तयारीका लागि १६ वटा विभिन्न समितिहरू गठन गरेको छ।