काठमाडौं एजेन्सी - भारतको गुजरातमा कोभिड केयर सेन्टरमा आगलागी हुँदा कम्तिमा १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

समाचार संस्था पीटीआईका अनुसार आगो शनिबार बिहान १ बजेबाट लाग्न सुरु भएको हो । अस्पतालमा आगलागीको भयानक दृश्य भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन र प्रशारण गरिरहेका छन् । चारतले सेन्टरमा आगलागीका समय ५० जना बिरामीको उपचार भइरहेको थियो ।

बाँकी बिरामीलाई स्थानीय, सुरक्षाकर्मी र दमकलका कर्मचारीहरुले सकुशल बाहिर निकालेका थिए नजिकको अर्को अस्पतालमा सारेका थिए ।

एक प्रहरी अधिकारीले बिहान ६ः३० बजे पीटीआईसँगको कुराकानीमा हालसम्म मृत्यु हनेको संख्या १८ रहेको बताएका थिए । यसअघि १२ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । भरूचका एसपी राजेद्रसिंह चुडासामाले भने १२ जनाको मृत्यु धुँवामा निसास्सिएर भएको जनाएका थिए । ‘बाँकी ६ जनाको मृत्यु भएको हो वा अर्को अस्पताल सिफ्ट गरिएको हो, यकिन भइसकेको छैन,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।