काठमाडौं - लक्ष्मी बैंकले एटिमबाट बिना एटिएम कार्ड पैसा झिक्न मिल्ने सुविधा ल्याएको छ । बैंकले एटिएम बुथमा पैसा झिक्दा कार्ड बिना बैंकको मोबाइल एप प्रयोग गरी पैसा झिक्न मिल्ने सुविधा ल्याएको हो ।

उक्त सुविधाका लागि बैंकको मोबाइल बैंकिंङ एप ‘मोबाइल मनि’ र आफ्नो मोबाइलमा सो सेवा सब्स्क्राइब गरेको हुनुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सुविधा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल मनिमा लग–इन गर्ने बितिकै ‘कार्डलेस विथ–ड्र’ भन्ने अप्सन देख्नुहुनेछ र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ ।

त्यस पछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम–पिन वा फिंगर–प्रिन्ट स्क्यान गर्नु पर्नेछ। यति गरिसकेपछि आफ्नो मोबाईलमा पनि दर्ता भएको नम्बरमा– ‘ओ.टि.पि.कोर्ड’ एसएमएसको रुपमा प्राप्त गर्नेछन्, जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओ.टि.पि. कोड केहि समयसम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ।

यति गरिसकेपछी ए.टि.एम. बुथमा ए.टि.एम.मा पनि कार्ड हाल्नु अगाडिनै ग्राहकहरुले ‘कार्ड–रहित’ भन्ने अप्सन देख्न सक्नेछन्। सो अप्सन छानिसकेपछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ। त्यस पछी प्राप्त भएको ओ.टि.पि. कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि ए.टि.एम.बाट नगद प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।