कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं - कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जंगलमा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।८ जनवरीका दिन जुराडोबोट मेडेलिनतर्फ गइरहेको विमान अकस्मात् सम्पर्क बाहिर पुगेको थियो । त्यस विमानमा एकै परिवारका ५ जना सदस्य थिए । प्यासिफिका ट्राभलद्वारा सञ्चालित सो विमान एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । सो जहाजमा चालक दलका २ सदस्य र ८ यात्रु सवार थिए ।
एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, ‘दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ । हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौँ ।’ प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘हामी सधैँ उनीहरूको साथमा रहनेछौँ । यस दुखद् घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौँ ।’
विमान दुर्घटनामा परेपछि उद्धारका लागि ३७ जना सक्रिय रहेका थिए । त्यहाँका गभर्नर आन्द्रेस जुलियस रेडनले घटना दुखद् भएको बताएका छन् । महानगरका ८ यात्रु नयाँ वर्षको उपलक्ष्यमा यात्रा गरिरहेको बताइएको छ । आफ्नो निवासतर्फ फर्किने क्रममा उनीहरूले टिकट नलिएर विमान चार्टर गरेका थिए । बुधबार साँझ दुर्घटना हुनेबित्तिकै खोजी कार्य सुरु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस