काठमाडौं - नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ/३४ ०००००१ देखि न‌/५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ ।

पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा विसं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020AD लेखिएको छ ।

१० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ । १० रुपैयाँ नोटको अग्र भागको बायाँ तर्फ सगरमाथाको चित्र रहेको छ।

त्यस्तै नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको राष्ट्र बैंकले जनाएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०७६ लेखिएको छ। त्यस्तै १० रुपैयाँको नोटको पृष्ठ भागको माथिल्लो खण्डमा अग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ।

नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको छ। नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा 2020AD लेखिएको छ।