कोरोनाबाट मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका
काठमाडौं - सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले उपचार गर्न अस्वीकार गर्दा बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको बताएका हुन् ।
‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन । बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो’ विप्लवको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, विप्लवले सरकारको लापरबाही र जनअनुत्तरदायी प्रवृत्तिका कारण नेपालमा कोभिड-१९ बाट नेपाली जनताले क्षति बेहोर्नुपरेको पनि आरोप लगाएका छन् ।
‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जस्तो कि चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवानाका बारेमा चर्चा गरे पनि रोकथामका उपायबारे पहल गरिएन। अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिएन।’
फेसबुक पेज Like गर्नुहोस