मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् ।
मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् ।
शुक्रबार मध्यरातै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेस गरेको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् । त्यसपछि राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए । त्यसैको आधारमा राति १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए । तर सर्वोच्च अदालतले फागुन ११ गते उक्त कदमलाई बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो । विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस