काठमाडौं - विभिन्न सञ्चारमाध्यमहरुमा राष्ट्रिय हित र सीमा सुरक्षाविपरीत अभिव्यक्ति दिएको भन्दै सांसद सरिता गिरीलाई एक हप्ताभित्र सांसद पदबाट हटाउन राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ।

बुधरबार विज्ञप्ति जारी गरी संघले नेतृ गिरीलाई संघिय संसदको सदस्यबाट फिर्ता बोलाउन सम्बन्धित पार्टीलाई एक हप्ताको अल्टिमेटम दिएको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने बेहोरासमेत यसै वक्तव्यमार्फत स्पष्ट गर्न चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौं।

'नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।'

सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति र भत्र्सना गरेको छ ।