नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिँदै
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणबारे चलिरहेको थुनछेक बहस आज सकिने सम्भावना रहेको छ ।
काठमाडौं जिल्ला अदालतमा यही जेठ २१ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिन लागेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।
इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ ।
प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर न्यौपानेले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।
फेसबुक पेज Like गर्नुहोस