अछाममा यसरी भयो इशरा र सरस्वतीको हत्या, दुई युवक पक्राउ
काठमाडौं,अछाम-अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको हत्या भएको खुलेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय अछामले उनीहरु दुवै किशोरीको हत्या भएको जानकारी गराएको हो ।
यही माघ ११ गते ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा गोठालो गएकी ढकारी–८ पल्साताकी इशरा र सरस्वती भोलिपल्ट मृत अवस्था भेटिएका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय अछाम, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गरेको थियो । सो घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय अछामले सो घटनाको सफल अनुसन्धान गरेको छ । अछाम प्रहरीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार घटनाको प्रमुख कारण प्रेम सम्बन्ध र शारिरीक सम्पर्कको लागि प्रस्ताव रहेको छ ।
पक्राउ परेकालाई आवश्यक सोधपुछ गर्दा मृतक इशरा खड्का परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको डीएसपी भण्डारीले जानकारी दिए । परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो मागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तर सरस्वतीले चुन्नी दिएकी थिइनन् । त्यसपछि ती किशोरले सरस्वतीबाट ईअरफोन खोसेका थिए । उक्त ईअरफोन इशराले मेरो दाईको ईअरफोन हो भनि फिर्ता मागेकी थिइन् ।
त्यसपछि सरस्वतीलाई उनले शारिरीक सम्पर्कको लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि सरस्वतीले अस्वीकार गरेको खुलेको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कसरी घट्यो घटना :
यही माघ ११ गते शुक्रबार ती किशोरीहरु गोठालो गएका थिए । साँझसम्म बाख्रा र गोरु घर फर्किए पनि उनीहरु भने फर्किएनन् । त्यस राति आफन्तहरुले जंगलमा खोजी गरेका थिए तर उनीहरुलाई अवेर रातिसम्म पनि फेला पारेनन् । त्यसपछि आफन्तहरु घर फर्किएका थिए ।
घर परिवारले उनीहरुले भागेर विहे गरेको आशंका गरेका थिए । तर शनिबार अपरान्ह माछा मार्न जाने व्यक्तिहरुले उनीहरुको लास क्षतविक्षत अवस्थामा देखेका थिए । त्यसपछि उनले ती किशोरीको घरमा खबर गरका थिए । त्यसपछि परिवारका सदस्यसहित प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धान अनुसार ती पक्राउ परेका दुई किशोर अर्थात परिवर्तित नाम ६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६ मृतक किशोरीहरुका प्रेमि हुन् । मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको छ ।
ती दुवैजना किशोर घटना घट्नुको २ दिन अगाडि डुफास्थित आफन्तको घरमा आई बसेका थिए । अघिल्लो दिनसमेत पक्राउ परेका किशोरहरुले मृतक इशरा खड्कालाई पटक-पटक फोन गरि भेट्न बोलाएका थिए । तर भेट नभएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि माघ ११ गतेका दिन भेट्ने योजना बनाई परिवर्तित नाम ६९ मंगलसेन ७३ र परिवर्तित नाम ६९ मंगलसेन ७६ बिहान १० बजेको समयमा खोलामा गएर मृतक किशोहरुहरुको बाटो ढुकी बसेका थिए । मृतकहरु दुबै जनाले दिउँसो अन्दाजी १२ बजेको समयमा रिमरौवा खोला नजिक रहेको आफ्नो खोरबाट बाख्रा ल्याई जंगलतर्फ आए ।
जंगलमा किशोरीहरुलाई ती किशोरहरुले भेट गरेका थिए । भेटपछि सरस्वती खड्काको मोबाईलवाट परिवर्तित नाम ६९ मंगलसेन ७३ को मोवाईलमा सेयर इट मार्फत गित भिडियो सेयर गरि सोही जंगलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा गई किशोहरीहरुसँगै ठुलो ढुङ्गामा बसेका थिए ।
त्यसपछि पक्राउ परेका आरोपी परिवर्तित नाम ६९ मंगलसेन ७६ ले मृतक किशोरीहरुलाई मायाको चिनो दोपट्टा मागे । मृतकहरु मध्ये ईशराको सेतो दोपट्टा खोसी परिवर्तित नाम ६९ मंगलसेन ७३ लाई दिइयो । मृतक सरस्वतीले ती किशोरलाई दोपट्टा नदिएपछि परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीबाट ईअरफोन खोसेका थिए ।
उक्त ईअरफोन इशराले मेरो दाईको ईअरफोन हो भनि फिर्ता मागिन् । परिवर्तित नाम ६९ मंगलसेन ७६ र परिवर्तित नाम ६९ मंगलसेन ७३ बीच बसेको ठुलो ढुङ्गामा दोपट्टा खोसाखोस भई एक आपसमा विवाद भएको अनुसन्धानबाट खुलेको छ । सोही समयमा सरस्वती खड्का र इशरा खड्का किशोरहरु बसेको ढुङ्गाको तलतिर गइन् ।
ईशरा बाख्रा फर्काउन भनि जंगलमा गइन् । सोही ढुङ्गाको तलतिर सरस्वती उभिएकी थिइन् । सोही समयमा परिवर्तित नाम ६९ मंगलसेन ७६ पनि सरस्वती खड्का उभिएको स्थान नजिकै गए । त्यसपछि उनले यौन सम्पर्क गर्न देउ भने । सरस्वतीले विवाह गर्ने भएपछि मात्र दिन्छु भन्दै जवाफ फर्काइन् ।
परिवर्तित नाम ६९ मंगलसेन ७६ ले आफ्नो उमेर कम भएको भन्दै ५-६ बर्षपछि विवाह गरौला भने । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिन् । त्यसपछि तल खोलातर्फ फर्केको अवस्थामा यौन सम्पर्क गर्न नदिएको झोकमा परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सोही स्थान नजिक रहेको ढुङ्गा समाती सरस्वतीको टाउको पछाडीको भागमा प्रहार गरे ।
त्यसपछि सरस्वती सोही स्थानमा ढलेर बेहोस भइन् । सोही कारणले सरस्वतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसपछि परिवर्तित नाम ६९ मंगलसेन ७६ हतार हतारमा पहिला बसेको ढुङ्गा नजिकै आई हातले लडाउन खोज्दा सकेका थिएनन् । ढुङ्गा लडाउन नसकेपछि जमिनको भित्तामा अडेश लगाई दुबै खुट्टाले उक्त ढुङ्गा ठेली लडाए ।
उनले ढुङ्गा लडाउदा परिवर्तित नाम ६९ मंगलसेन ७३ ले ढुङ्गा आयो भाग भनि कराए । परिवर्तित नाम ६९ मंगलसेन ७३ ले ढुङ्गा लड्यो भाग भनि कराई सरस्वती लडेको स्थानतर्फ गएको ढुङ्गा लडेको थियो । परिवर्तित नाम मंगलसेन ७३ ले कराएको आवाज सुनी ईशरा खड्कासमेत सरस्वती ढलेको स्थानमा गइन् ।
सरस्वती ढलेको स्थानमा गई हेर्दा उनको मृत्यु भइसकेको देखिन् । यो कुरा कसैलाई नभन्नु भनि परिवर्तित नाम मंगलसेन ७३ र मंगलसेन ७६ ले ईशरालाई भने । तर उनले अस्वीकार गरिन् । सो घटनास्थलबाट घर तर्फ जान प्रयास गर्न थालेपछि परिवर्तित नाम ६९ मंगलसेन ७६ ले ईशराको हात समाती पछाडी धकेली बाटो छेके ।
परिवर्तित नाम ६९ मंगलसेन ७३ ले सोही स्थानबाट ढुङगा समाती इशराको निधारमा प्रहार गरे । त्यसपछि इशरा पनि सोही स्थानमा ढलिन् । सो पश्चात परिवर्तित नाम ६९ मंगलसेन ७६ ले इशरा खड्कालाई ढलेकै अवस्थामा ढुङ्गाले अनुहारको भागमा फेरि हाने ।
त्यसपछि मंगलसेन ७३ र मंगलसेन ७६ ले दुवैको ढुङ्गाले प्रहार गरी हत्या गर्दै लाश घटनास्थलमै छोडी भागेको अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले बताए । उनका अनुसार पक्राउ परेका दुवैजनामाथि अछाम जिल्ला अदालतबाट ५ दिनको म्याद गरेर अनुसन्धान भइरहेको छ । उनीहरु दुवैजना अछाम प्रहरीको हिरासत कक्षमा छन् ।
योसँगै यो घटनामा अछाम प्रहरीले अनुसन्धानमा सफलता पाएको छ । आजसम्म अछाम प्रहरीले यस घटनामा आधिकारिक रुपमा मुख खोलेको थिइन् । तर अन्तः एक हप्तापछि अछाम प्रहरीले आज पत्रकारसम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस