काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको छ।
यससँगै एनपीएलका आठवटै फ्रेन्चाइज टोलीलाई टेस्ट मान्यता प्राप्त राष्ट्रका खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विज्ञप्तिमार्फत आईसीसीले एनपीएल सिजन–३ लाई मान्यता दिएको जानकारी दिएका हुन्।
आईसीसीको मान्यतासँगै यसपटक एनपीएलमा टेस्ट राष्ट्रका थप चर्चित खेलाडीहरू सहभागी हुने सम्भावना बढेको छ। यसअघि मान्यता नहुँदा फ्रेन्चाइज टोलीहरूले टेस्ट राष्ट्रका सीमित खेलाडी मात्रै अनुबन्ध गर्न पाएका थिए।
विगतका दुई संस्करणमा टोलीहरूले टेस्ट मान्यता प्राप्त राष्ट्रका चार जनाबाहेक थप खेलाडी अनुबन्ध गर्न पाएका थिएनन्।
यसपटक भने केही टोलीले टेस्ट राष्ट्रका खेलाडी अनुबन्ध गरिसकेको घोषणा गरिसकेका छन् भने अन्य टोली आईसीसीको मान्यताको प्रतीक्षामा थिए।
क्यान सचिव खड्काले शुक्रबार आयोजित एक कार्यक्रममा आईसीसीले जुनसुकै बेला मान्यता दिन सक्ने भन्दै आफूले त्यसका लागि निरन्तर इमेल जाँच गरिरहेको बताएका थिए।

.gif)



